पाैष ३, मकवानपुर । राक्सिराङ्ग गाउँपालिकाको गाउँसभा (हिउँदे) अधिवेशन आगामी पाैष २३ गते बस्ने भएको छ। गाउँपालिकाको कार्यालय, चेनपुरमा बिहान ११ बजे अधिवेशन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ (२) बमोजिम आह्वान गरिएको उक्त हिउँदे अधिवेशनको प्रारम्भिक सत्रसँगै राक्सिराङ्ग गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोह पनि आयोजना गरिनेछ। उक्त भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री माननीय श्री इन्द्र बहादुर बानियाँबाट हुने कार्यक्रम तय भएको छ।
गाउँपालिकाका अनुसार अधिवेशनमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा, आर्थिक वर्ष २०८२/०८३ को विनियोजन ऐन, बजेट तथा कार्यक्रम संशोधन, न्यायिक समितिको प्रतिवेदन, आगामी आर्थिक वर्ष २०८०/०८१ सम्मका लागि गाउँपालिकाको कर दर निर्धारण, तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक लगायतका महत्वपूर्ण कार्यसूचीहरू प्रस्तुत गरिनेछन्।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अधिवेशनमा गाउँसभाका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दै, अधिवेशनले राक्सिराङ्गको समग्र विकास र सुशासन प्रवर्द्धनमा महत्वपूर्ण निर्णयहरू लिने विश्वास व्यक्त गरेका छन्।














