मनहरीमा फूलपाती भित्र्याइयो, टीकाको दिन जमरा वितरण गरिने

असोज १३, मनहरी । दशैँको सातौँ दिन अर्थात् हरेक वर्ष आश्विन शुक्ल सप्तमीका दिन भित्र्याइने फूलपाती मनहरीमा पनि भित्र्याएको छ  ।

आज (सोमबार) मनकामना सनातन धर्म संरक्षण संस्थाको आयोजना र स्थानीय बासीहरुको उपस्थितीमा मनहरी बजारको पुलछेउबाट पन्चेबाजा र फूलपातीसहित बजार परिक्रमा गर्दै मनकामना मन्दिर परिसरमा रहेको जमरा घरमा फूलपाती भित्र्याउने कार्य सम्पन्न भएको हो ।

आज नवरात्रीको सातौँ दिन देशैभरी दशैँको लागि पुजा सामाग्री स्वरुप फूलपाती भित्र्याउने गरिन्छ जसमा  घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजा कोठामा केराको बोट, उखु, दारिम, धानको बाला, बेलपत्र,   हलेदो, मानवृक्ष, अशोक र जयन्ती नामका नवपत्रहरुलाई भित्र्याइ पुजा गरीन्छ । यी नवपत्रहरुमध्ये ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिब, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ जसलाई नवदुर्गा देवीको सहायक देवीहरु मानिन्छ ।

आजै काठमाण्डौँको हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । यसरी फूलपाती भित्राएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ ।

जमरा घरमा जमरा पाइने : 

दशैँमा आफ्नो घरमा जमरा उत्पादन गर्न समस्या भएकाहरुलाई मनकामना सनातन धर्म संरक्षण संस्थाले सशुल्क जमरा उपलब्ध गराउने भएको छ । गत बर्ष झैँ संस्थाले सर्वसाधारणहरुको लागि मन्दिर परिसरमा रहेको जमरा घरमा जमरा उत्पादन गरेको छ । जमरा आवश्यक पर्ने जोकोहीले दशमी अर्थात् टीकाको दिन  जमरा प्राप्त गर्न सक्नेछन् भने अग्रीम बुकिङको लागि नाम लेखाउन समेत संस्थाले जानकारी गराएको छ । यसरी जमरा लिन चहानेहरुले प्रति मुठा पचास रुपैयाँ शुल्क बुझाउनु  पर्ने छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.