असोज ८, राक्सिराङ्ग। राक्सिराङ्ग गाउँपालिकाका लाभग्राहीहरुले त्रैमासिक रुपमा प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता दशैँ अगाडी नपाउने भएको छ ।
आज (असोज ८ गते) एक सूचना जारी गर्दै पालिकाले यसपालीको भत्ता वितरणमा ढिलाई हुने जानकारी दिएको हो । सूचनामा आ.व. २०८२/८३को प्रथम त्रैमासिक अर्थात् यो दशैँ अघि वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको निकासा विविध कारणले ढिलाई हुने भनिएको छ ।
योसँगै पालिकाभित्रका लाभग्राहीहरुले अर्को सूचना जारी भएपछि मात्रै भत्ता निकाल्न सम्बन्धित बैँकमा जानुपर्ने भएको छ । नभए अनावश्यक दुख मात्रै पाउने छन् । त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने उदेश्यले नै पालिकाले अग्रिम सूचना जारी गरी सम्बन्धित लाभग्राहीसम्म पुर्याउन समेत भनिएको छ ।
यसरी सामाजिक सुरक्षा भत्ता समयमा वितरण हुन नसक्नुमा कार्ड नविकरण एवं बायोमेट्रिक लिने कार्यमा ढिलाइ हुनु एक प्रमुख कारण देखिएको छ । लाभग्राहीहरु आफ्नो भत्ता कार्ड नविकरण प्रकृयाबारे सुसूचित नहुनु, तोकिएको समयसीमाभित्र नविकरण गर्न वडा कार्यालयमा नपुग्नु र पछिल्लो समय अनिवार्य गरिएको वायोमेट्रिक लिने जस्ता थप कार्यले गर्दा पनि यसपाली भत्ता वितरणमा ढिलासुस्ती भएको हो ।
पालिकाले जारी गरेको सोही सूचनामा समेत अझै लाभग्राहीहरु छुटहुन पुगेको भन्दै छुटेको लाभग्राहीहरुलाई असोज मसान्त भित्रमा वडा कार्यालय पुगि नवीकरण गर्न आग्रह गरेको छ।














