२७ साउन, हेटाैँडा । बागमती प्रदेशको मुख्यमन्त्री पदमा काँग्रेस संसदीय दलको नेता ईन्द्र बहादुर बाँनियाले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
आज (मंगलबार) प्रदेशको राजधानी हेटाैँडामा आयोजित छैटौं अधिवेशनमार्फत नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत मागेका बाँनिया काँग्रेस र प्रमुख सत्ता साझेदार दल नेकपा एमाले निकटका सांसदहरुबाट विश्वासको मत प्राप्त गर्नु भएको हो । योसँगै उहाँ बागमती प्रदेशको छैठाैँ मुख्यमन्त्री बन्नु भएको छ।
बागमती प्रदेश सभाको जम्मा ११० जना सदस्यहरुमध्ये उपस्थित ९२ जनाबाट विश्वासको मत लिने क्रममा मुख्यमन्त्री बाँनियाले ६३ मत प्राप्त गर्दै बहुमतले प्रदेशको मुख्यमन्त्री चुनिनु भएको हो ।
तर, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी लगायत प्रदेश सभाका २२ जना सदस्यहरुले बाँनियालाई विश्वासको मत दिन अस्वीकार गरेको छ । त्यस्तैगरी उपस्थितमध्ये ७ सदस्यहरुले मत दिन्न अर्थात् तटस्थ रहन्छु भनि मत जाहेर गरेनन् ।














