हेटौंडा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई सम्मान गर्नका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् पुरण बहादुर जोशीले नगद ५० हजार रुपैयाँ प्रायोजन गर्ने भएका छन्।
साम्बालाई साउन १७ गते सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ विषयक विशेष कार्यक्रममा मुख्य अतिथिका रूपमा सहभागी गराइनेछ। सोही अवसरमा उनलाई सम्मानित गरिनेछ।
संचालक जोशीले महिला सशक्तिकरणको पक्षमा आफू सधैं उभिएको भन्दै पहिलो पटक महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूह मकवानपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।
“पहिलो पटक महिला पत्रकारले सहयोग माग्नुभयो, म सँधै महिलाहरुलाई सम्मान गर्छु, महिला सशक्तिकरणमा मेरो साथ सधैं रहनेछ,” उनले भने।
उनले विगतमा पनि विभिन्न सामाजिक, शैक्षिक र समुदायस्तरीय कार्यक्रमहरूमा सहयोग गरेको अनुभव सुनाउँदै आगामी दिनमा पनि आर्थिक मात्र नभई अन्य तरिकाले पनि साथ दिने प्रतिबद्धता जनाए।
सम्मान प्रायोजन गरेवापत सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष निशा गुरुङले जोशीलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन्। कार्यक्रमको तयारीमा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी र प्रेस चौतारी मकवानपुरकी उपाध्यक्ष प्रतिक्षा न्यौपानेले पनि सहयोग पुर्याएका छन्।
२०५२ सालमा स्थापना भएको सञ्चारिका समूह नेपाल सञ्चार क्षेत्रमा कार्यरत महिलाहरूको साझा संस्था हो। संगठनले विशेषगरी महिला पत्रकारको हकहित, क्षमता अभिवृद्धि, लैङ्गिक समानता, मानव अधिकार, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता जस्ता विषयमा प्रशिक्षण, अनुसन्धान, वकालत र अन्य गतिविधिहरू सञ्चालन गर्दै आएको छ।














