हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले संगठन सुदृढीकरण र सञ्चारकर्मीको संस्थागत सहभागिता विस्तार गर्ने उद्देश्यसहित १०० दिने विशेष सदस्यता अभियान सुरु गर्ने भएको छ।
साउन ४ गते काठमाडौँमा सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार, अभियान सञ्चालन गरिने मकवानपुर शाखाले जनाएको छ। उक्त निर्णयअनुसार, कक्षा १२ उत्तीर्ण गरेका क्रियाशील सञ्चारकर्मीहरूलाई मात्र नयाँ सदस्यता प्रदान गरिने प्रेस युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले जानकारी दिएका छन्।
यस अभियानलाई प्रभावकारी बनाउन मकवानपुर शाखाले सोमबार हेटौंडामा सम्पन्न कार्यसमिति बैठकबाट विभिन्न निर्णयहरू गरेको छ। सो बैठकले जिल्ला उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा सञ्चारकर्मीलाई युनियनमा आवद्ध गराउने उद्देश्यले ‘पत्रकारसँग युनियन’ अभियानसमेत सञ्चालन गर्ने निर्णय लिएको छ।
कार्यक्रम अन्तर्गत जिल्लामा संगठन सुदृढीकरणका विविध कार्यक्रमहरू अघि बढाइने र केन्द्रको निर्देशन अनुसार गतिविधि सञ्चालन गरिने जानकारी दिइएको छ।
साथै, बैठकले हाल विदेशमा रहेका सचिव बलराम पुडासैनीको अनुपस्थितिमा सहसचिव प्रबेश धिताल ‘कुन्दन’लाई कार्यवाहक सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरेको छ। संगठनलाई निरन्तर र गतिशील रूपमा अगाडि बढाउन यस्तो व्यवस्था गरिएको हो।
त्यस्तै, हेटौंडा सन्देश डटकमका कार्यकारी सम्पादक सोमलाल घलान ‘भुवन’लाई युनियन मकवानपुरको कार्यसमिति सदस्यमा मनोनयन गरिएको छ।
अनुशासन कारबाहीमा परेका निष्कासित सदस्यहरूका लागि पनि युनियनले केन्द्रको सर्कुलर अनुसार आत्मआलोचना सहित कारबाही फुकुवाका लागि लिखित निवेदन दिन आग्रह गरेको छ।














