मकवानपुर । लोकप्रिय रियालिटी शो ‘द भोइस किड्स नेपाल सिजन ४’ को पछिल्लो एपिसोडमा कोच मेलिना राई द्वारा गरिएको एउटा निर्णय सामाजिकसञ्जालमा विवादको घेरामा परेको छ। निर्णयसँगै शोका दर्शकहरू दुई धारमा बाँडिएका छन् — केहीले मेलिनाको निर्णयको बचाव गरेका छन् भने केहीले कडा आलोचना गरेका छन्।
तर विवाद केवल निर्णयमा सीमित छैन। यस निर्णय पछाडि साँच्चिकै कोच मेलिना राईकै इच्छा थियो कि शो टिमको निर्देशन? भन्ने प्रश्न उठ्न थालेको छ। यो निर्णयको औचित्यको बारेमा न शो टिमले, न मेलिनाले कुनै स्पष्ट प्रतिक्रिया दिएका छन्।
अडियो सम्पादनले झन् बढायो शंका
प्रशारणका क्रममा रोशना नाम गरेकी एक प्रतिभागीको गीतको अडियोमा समस्या देखिएको थियो। त्यही बिग्रिएको आवाजकै कारण उनी छनोटबाट बाहिरिएको अनुमान गरिएको छ। तर, दर्शकहरूले गीत पुनः युट्युबमा हेर्दा त्यसमा लाईभ अडियो हटाएर म्यूजिक ट्र्याक मात्र राखिएको देखियो।
के साँच्चिकै रोशनाको लाईभ प्रस्तुति बिग्रिएको थियो त? कि मिक्सिङको क्रममा केही प्राविधिक त्रुटि भएको थियो? यही विषयमा दर्शकहरू अन्योलमा परेका छन्। ‘ओरिजिनल अडियो’ प्रसारणको बेलामा यस्तो सुनिएको थियो, तर पछि सम्पादन गरिएको अडियो राखिनुले दर्शकहरूमा शंका जन्माएको छ।
सामाजिक सञ्जालमा चर्को बहस भइरहँदा पनि ‘द भोइस किड्स नेपाल’ टिम वा कोच मेलिना राई को तर्फबाट कुनै औपचारिक स्पष्टीकरण आएको छैन। यसले झन् विवादलाई चुल्याएको छ।
शोको लोकप्रियता हेर्दा दर्शकको विश्वास कायम राख्नु अत्यन्त महत्वपूर्ण हुन्छ। यस्ता प्राविधिक कमजोरीहरू र अस्पष्ट निर्णय प्रक्रियाले प्रतियोगीमात्र होइन, दर्शकको मनोबल पनि गिराउन सक्छ। त्यसैले धेरै दर्शकहरूले शो टिमसँग पारदर्शिता र जवाफदेही माग गरेका छन्।














