हेटौंडा । मकवानपुरका उदीयमान गायक जनक लामाले आफ्नो नयाँ तामाङ सेलो गीत ‘म्हारला व्यापारी’ सार्वजनिक गरेका छन्। प्रेमिल भाव र तामाङ सांगीतिक परम्पराको रमाइलो मिश्रण बोकेको उक्त गीतको अडियो संस्करण गायक लामाको आधिकारिक युट्युब च्यानल ‘जनक लामा’ मार्फत सार्वजनिक गरिएको हो।
गायिका कान्छी माया थोकरसँगको युगल स्वरमा सजिएको गीतलाई सुशिल तामाङले शब्दमा उतारेका हुन् भने संगीत संयोजन चेतन लामाले गरेका छन्। जोगलाल लामाको एरेन्ज, सानुबाबु घिसिङको मिक्सिङ तथा मास्टरिङ, र अर्पण स्टुडियोमा गरिएको रेकर्डिङले गीतलाई प्राविधिक रूपमा सशक्त बनाएको छ।
गायक जनक लामा यसअघि पनि थुप्रै तामाङ गीतमार्फत चर्चा कमाइसकेका छन्। ‘म्हारला व्यापारी’ सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र युट्युबमा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ। धेरैले गीतको धुन, शब्द, र सांगीतिक आत्मालाई प्रशंसा गरेका छन्।
नयाँ गीतप्रति उत्साहित देखिएका गायक लामाले यसलाई आफ्नो सांगीतिक यात्राको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएका छन्। उनी मकवानपुरको बकैया गाउँपालिका–७ का बासिन्दा हुन् र तामाङ समुदायको मौलिक संगीतको प्रवर्द्धनमा निरन्तर सक्रिय छन्।














