मकवानपुर । हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार: फायर एण्ड एस’ ले पाण्डोराको थप कथा लिएर फर्किने तयारी गरेको छ। फिल्मको प्रमुख खलनायक पात्र वाराङ को झलकसहित फिल्म ‘अवतार ३’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म सन् २०२५ डिसेम्बर १९ (२०७९ पुस ४) मा विश्वव्यापी रूपमा रिलिज हुने भएको हो। त्यही दिन रिलिज हुन लागेको अर्को चर्चित हलिउड फिल्म ‘फ्यान्टास्टिक फोर’ सँगै ‘अवतार ३’ को पहिलो ट्रेलर सार्वजनिक गरिनेछ।
फिल्ममा वाराङको भूमिका अभिनेत्री उना च्याप्लिनले निभाएकी छन्। उनलाई माङ्कवान कुल अर्थात् एस मानिसको नेता को रूपमा चित्रण गरिएको छ। आज सार्वजनिक गरिएको पहिलो पोस्टरमा खलनायिकाको अनुहार प्रष्ट देख्न सकिन्छ।
अमेरिकन सञ्चारमाध्यम न्यूयोर्क टाइम्स अनुसार, ट्रेलर हालै डिज्नीका लस एन्जलस र न्यूयोर्कस्थित कार्यालयहरूमा देखाइएको थियो। ट्रेलरमा वाराङलाई रातो र कालो श्रीपेच लगाएको अवस्थामा देखाइएको छ। उनी जेक र नेतिरीकी छोरी किरी लाई बन्धक बनाउँदै भन्छिन्: “यहाँ तिम्रो देवीको कुनै अधिकार छैन।”
फिल्मको अनुमानित बजेट २५ करोड अमेरिकी डलर (झण्डै ३४ अर्ब नेपाली रुपैयाँ) रहेको बताइएको छ। यसले फिल्मको भिजुअल प्रभाव, कथा र उत्पादन स्तरलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।
‘अवतार’ शृङ्खलाले पहिलेका दुई संस्करणमार्फत विश्वव्यापी रूपमा ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ। ‘अवतार ३’ मार्फत दर्शकले पाण्डोराको नयाँ रहस्य, सांस्कृतिक द्वन्द्व र मानवीय भावना झल्किने गहिरो कथा अनुभव गर्ने अपेक्षा गरिएको छ।














