हेटौडा । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ। कबड्डी, जारी र मनसराज जस्ता चर्चित फिल्मका लेखक उपेन्द्र सुब्बाको लेखन रहेको यस फिल्मले गुरुङ समुदायको संस्कृति, सम्बन्ध र ग्रामीण सौन्दर्यको कथालाई केन्द्रमा राखेको छ।
फिल्मको टिजरमा मुख्य कलाकार दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, गौमाया गुरुङ, बुद्धि तामाङ, र माओत्से गुरुङको अभिनय झल्किन्छ। टिजरले कथावस्तु खुलाएर नबताए पनि फिल्मको मनोविज्ञान र सारप्रति संकेत गर्दछ। कथावस्तु त्रिकोणात्मक प्रेमकथामा आधारित हुने अनुमान गरिएको छ।
दयाहाङ राईले लाहुरेको भूमिका निर्वाह गरेका छन्, जसले गाउँकी गुरुङ युवती धनरुपालाई विवाह गरेर विदेशिएका हुन्छन् र पछि गाउँ फर्किन्छन्। यसले फिल्ममा प्रेम, संस्कृति र मनोवैज्ञानिक संघर्षको कथा बुनेको आभास गराउँछ।
फिल्मलाई निर्देशक खिलबहादुर गुरुङले निर्देशन गरेका हुन्। गोरखाको माथिल्लो क्षेत्रहरूमा छायांकन गरिएको यस फिल्मले स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्ने प्रयास गरेको छ। कबड्डी श्रृंखलामा निकै रुचाइएको दयाहाङ र रिश्मा गुरुङको जोडी यो फिल्ममा पनि एकसाथ देखिँदैछ।
‘रिमै’ गोर्खा सिरानचोक एण्ड लिगलिगकोट फिम्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो। फिल्म भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।














