भदौ ४, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकामा किरियाकर्म भइरहेको ठाउँमा परेको चट्याङका कारण १ जनाको मृत्यु भएको छ ।
जिल्लाको पस्चिमीभेगमा पर्ने मनहरी गाउँपालिकाको वडा नम्बर ६ हाङलाङमा केही दिनअघि मृत्यु भएका मानबहादुर घलानको अन्तिम काजकिरिया भइरहेको ठाउँमा हिजो (मंगलबार) साँझ ४ः३० बजेतिर अचानक चट्याङ पर्दा ४६ बर्षको बिशाल ब्लोनको घटनास्थलमै ज्यान गएको हो ।
सोही घटनामा अन्य ११ जना घाइते भएका छन् भने निजहरुलाई उपचारको लागि मनहरी अस्पताल पठाइएको छ ।
घाइते हुनेहरुमा १२ बर्षीय सुजन घलान, १२ बर्षीया बर्षा घलान, १६ बर्षीय सन्तोष घलान, ७२ बर्षीया सानुमाया घलान, ३७ बर्षीय राजकुमार घलान, ३२ बर्षीय शान्ति घलान, २ बर्षीया सारा घलान, ५० बर्षका प्रमाणसिंह तितुङ, ४४ बर्षीय पानबहादुर मुक्तान, ३४ बर्षीय प्रेमबहादुर घलान र १२ बर्षीय आर्यन तितुङ रहेका छन् ।
घटनामा परी घाइते भएकाहरुको मनहरी अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
त्यसैगरी घटनास्थलमै मृत्यु भएको बिशाल ब्लोनको शव भने पोष्टमार्टमका लागि हेटौँडा पठाएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनु भएको छ । घटना लगत्तै मनहरी अस्पताल पुग्नु भएको अध्यक्ष कालाखेतीले घाइतेहरुको उद्धार कार्यमा समेत सहयोग गर्नुहुँदै सबै घाइतेहरुको उपचार निःशुल्क गरिने घोषणा गर्नुभएको छ । उहाँले २ बर्षीय घाइते सारा घलानको परिवारका लागि आवश्यक खाजा खाना खर्च व्यवस्थापनका लागि भन्दै ब्यक्तिगत रुपमा नगद १० हजार रुपियाँ समेत हस्तान्तरण गर्नुभएको छ ।














